नेप्टेमा कसको आँखा चिम्रो

काठमाडौं । यो महिनाको अन्तिम अर्थात चैत ३० गते रिलिज हुने फिल्म ‘नेप्टे’को तेस्रो गीत ‘आँखा छ चिम्रो’ सार्वजनिक भएको छ । ‘सुपारी काँचो’ र ‘दिल रानी’ गीतसँगै कमेडी ट्रेलर सार्वजनिक गरिसकेको फिल्म युनिटले नयाँ गीत बाहिर ल्याएको हो ।

गीतमा भिषण राई र दिपा लामाको स्वर तथा नायक तथा निर्माता रोहित रुम्बाको शब्द र संगीत छ । गीतमा रोहित रुम्बासँगै बुद्धि तामाङ ‘हैट’, अर्जुन गुरुङ र नायिका पूर्णिमा लामाले फिचरिङ गरेका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसी र जयकिशन बस्नेत लगायतका कलाकारको अभिनय छ । फिल्ममा किरण माइकलको पटकथा एवं संवाद, रोहितको कथा, हरि घले लामाको छायांकन, सन्तोष राज, बाबु बोगटी तथा ओम सुनारको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व छ ।