दर्शकको भीड देख्दा नाजिर चकित

काठमाडौं । आफूले अभिनय गरेको फिल्म रिलिज भएको दिन बिहानैदेखि हलमा दर्शकको भीड देख्दा जोकोही कलाकार पनि खुशी हुन्छन् । शुक्रबारबाट रिलिज भएको फिल्म ‘तिमी सँग’का कलाकार नाजिर हुसेन शुक्रबारको पहिलो शोमा दर्शक देख्दा चकित र खुशी भए । बिहानको समयमा उनी फिल्मका वितरक गोपाल कायस्थसहित फिल्मका युनिटसँग चाबहिलस्थित गोपीकृष्ण हलमा पुग्दा दर्शकको भीड बाक्लो थियो ।

आफूले अभिनय गरेको फिल्म हेर्न हलमा दर्शकको भीड देख्दा उनी उत्साहित देखिन्थे । ‘ओहो ! बिहानको शोमा पनि दर्शक कति धेरै दर्शक । म आश्चर्यमा परेको छु । वास्तवमा हामी प्रति यो दर्शकले देखाएको ठूलो माया हो ।’ उनी भन्दै थिए । फिल्मका अर्का दुई प्रमुख कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह लण्डन र नायक आकाश श्रेष्ठ सन्तपुर बस्तीमा फिल्म सुटिङका लागि गए पछि नाजिर एक्लै दर्शक प्रतिक्रिया बुझ्न हलमा पुगेका थिए ।

शिशिर रानाको निर्देशनमा बनेको फिल्मले शुक्रबार सोलो रिलिज पाएको हो । यो फिल्मसँग प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म ‘हिरोज’ले अन्तिम समयमा आएर रिलिज मिति सारेपछि शिशिरको फिल्मले सोलो रिलिजको मौका पाएको हो ।

फिल्मको उपत्यका वितरक गोपालकाजी कायस्थका अनुसार शुक्रबार बिहानीको शोमा गोपिकृष्ण मुभिजको कृष्ण हल हाउसफूल हुँदा मल्टिप्लेक्समा पनि फिल्मको चाप राम्रै देखियो । ‘शनिवार फिल्म अझ आक्रामक रुपमा जाने विश्वास छ । उपत्यका बाहिर पनि धेरै ठाउँमा फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाएको खबर आइरहेको छ ।’ उनले भने ।