‘शत्रु गते हेर्दा धेरै ठाउँमा हाँसें’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल गत साता नै फिल्म ‘शत्रु गते’ हेर्ने तयारीमा थिए । तर फिल्मका निर्मातामध्येका एक यशोदा सुवेदी(अभिनेता मदनकृष्ण श्रेष्ठकी श्रीमति)को निधनले नेपालको फिल्म हेर्ने चाहना अधुरै भएको थियो । फिल्म हेर्ने हुटहुटी चलिरहँदा नेपालले हालै मात्र फिल्म हेरेका छन् । गीतसंगीत, ट्रेलर र स्टारकास्टको कारण चर्चामा आएको फिल्मलाई उनीसहित माओवादी केन्द्रका नेता नारायणकाजी एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले बागबजारस्थित सिटीम्याक्स हलमा फिल्म हेरेका थिए ।

फिल्म हेरेपछि नेता नेपालले युवासँगै वृद्धवृद्धासम्मका दर्शकलाई हलसम्म तान्ने फर्मुला फिल्ममा रहेको प्रतिक्रिया दिए । ‘यसमा समाजको विकृति विसंगति देखिएको छ भने त्यसको परिणाम र त्यसलाई निर्मुल पार्ने उपाय पनि छ । फिल्मको बारेमा पहिलादेखि नै सुनेको थिए, तर ‘शत्रु गते’ हो कि १७ गते हो भन्ने कन्फ्युज थिए । पछि नाम किन यस्तो भन्ने पनि लागेको थियो तर फिल्म हेरेपछि सबै प्रस्टिए,’ उनले भने, ‘फिल्ममा सबैको भूमिका उत्तिकै राम्रो छ । फिल्म हेर्दा धेरै ठाउँमा हाँसे ।’

अर्का नेता नारायणकाजीले फिल्मले सामाजिक यथार्थलाइ देखाएको बताए । ‘समाजमा देखा परेका कुरुतिलाई हटाउने सन्देश पनि यसमा छ । फिल्मले हसाउँछ भने कहिँकतै रुवाउने कोशिस पनि गरेको छ’उनले भने । फिल्मका निर्देशक प्रदिप भट्टराईले फिल्म रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा रहेकाले फिल्म हेर्न नपाएका दर्शक यतिबेला हल आइरहेको बताए । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेशरञ्जन झालगायतको अभिनय रहेको छ ।

तस्बिरः आर्यन विमली