‘फरक फ्लेबरमा डमरुको डण्डिबियो’

पोखरा । कलाकार तथा लेखक खगेन्द्र लामिछानेले आफुले लेख्ने र खेल्ने फिल्म व्यावसायिकताका लागिमात्रै नभएको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको फिल्म ‘डमरुको डण्डिबियो’को पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानले उनले गहन विषयमा मात्र कथा लेख्ने गरेको खुलाए ।

‘मैले लेख्ने र खेल्ने फिल्म व्यावसायिकताको लागि मात्रै हुँदैन । मलाई यो बिषय गहन हो भन्ने लाग्यो भने कथा लेख्छु । चल्ने नचल्ने फरक पाटो हो,’ उनले भने, ‘गतवर्ष राष्ट्रिय खेलबाट हटाइएको डण्डीबियो खेललाई प्रमुख विषयबस्तु बनाएको भएता पनि फिल्ममा पारिवारिक कथासँगै मायाप्रेमसमेत देखाइएको छ ।’ कलाकार बुद्धि तामाङले फिल्मले पछिल्लो समय युवापुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउनेसँगै खेलको महत्व झल्काउने बताए । पर्यटन व्यवसायीसमेत रहेका निर्माता विनोद गुरुङले बन्दै आएका अन्य नेपाली फिल्म भन्दा विल्कुल फरक स्वादमा फिल्म बनेको बताए ।

फिल्ममा खगेन्द्र लामिछाने, वुद्धि तामाङ, मेनुका प्रधान, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगिहोपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । छेतेन गुरुङले निर्देशन गरेको फिल्म युनिट पोखराबाट औपचारिक रुपमा प्रोमेशन यात्रा सुरु गरेर बुटवल, नारायणघाट, हेटौंडा, दमक हुँदै बिर्तामोडसम्म पुग्नेछ ।