नेप्टेबाट आशावादी रोहित

काठमाडौ । फिल्म क्षेत्रमा झण्डै एक दशक बिताइसकेका कलाकार रोहित रुम्बा आगामी शुक्रबारबाट आफ्नो फिल्म ‘नेप्टे’ लिएर दर्शकमाझ आउँदैछन् । लामो समयसम्म फिल्ममा काम गरेको अनुभवलाई आफ्नो फिल्ममा प्रस्तुत गरेको बताउने रोहित फिल्मबाट आशावादी छन् ।  फिल्मका प्रस्तुतकर्ता तथा नायक रोहितले ‘नेप्टे’ कमेडी कथामा एउटा मनोरञ्जनपूर्ण फिल्म बनाएको बताए । ‘फिल्म क्षेत्रमा एक दशक लामो अनुभवलाई यो फिल्ममा पोखेको छु,’रुम्बाले भने,‘फिल्ममा सबै कलाकारले उत्कृष्ट अभिनय गरेका छन् । हाम्रो मेहनत खेर नजानेमा म ढुक्क छु ।’

फिल्ममा अभिनेता दयाहाङ राई भिलेन चरित्रमा छन् । ‘फिल्मको कथा र विषय उत्कृष्ट छ । स्क्रिप्ट पढि सकेपछि मेरो चरित्र निकै दह«ो लाग्यो । अनि मैले खलनायक नै रोजें,’दयाहाङ भन्छन्,‘मेरो भूमिका र फिल्म दर्शकको रोजाइमा पर्नेमा म ढुक्क छु । मलाई विश्वास गरेर भए पनि दर्शक नेप्टे हेर्न हलसम्म आउनुहुनेछ ।’ निर्देशक देवकुमार श्रेष्ठले फिल्मको गीत र ट्रेलर हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिइरहेकाले उनीहरुले फिल्मलाई अझ बढी मनपराउने आशा व्यक्त गरे । ‘‘नेप्टे’ कमेडी फ्लेबरको फिल्म हो । मेरा अघिल्ला फिल्ममा भन्दा यसमा केही फरक गर्ने प्रयास गरेको छु ।’ देवकुमारले भने ।

फिल्मकी नायिका छुल्ठिम गुरुङले ‘नेप्टे’ अहिले आइरहेको फिल्मभन्दा फरक रहेको बताइन् । ‘मलाई फिल्मको कथाले छोयो । कमेडी र सस्पेन्स फिल्म हेर्न चाहने दर्शकका लागि यो फिल्म राम्रो हुन्छ,’ छुल्ठिमले भनिन् । कलाकार बुद्धि तामाङले ‘नेप्टे’मा आफ्नो चरित्र अघिल्ला फिल्मसँग नमिल्ने दाबी गरे । ‘म दर्शकलाई यो फिल्ममा कमेडीको पूर्ण मनोरञ्जन दिनेछु । मलाई लाग्छ मेरो यस्तो चरित्र अन्य फिल्ममा दर्शकले हेर्न पाउनुहुने छैन ।’ उनले भने ।

आर रोशनी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाललगायतका कलाकारको अभिनय छ । फिल्ममा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।