यायावरमा आए गीतकार बसन्त

काठमाडौं । इलामे गीतकार बसन्त थाम्सुहाङको दोस्रो सांगीतिक एल्बम ‘यायावर’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रममा गीतकार रत्नशमशेर थापा, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, संगीतकार इश्वर बल्लभ, प्राज्ञ तथा साहित्यकार श्रवण मुकारुङ, संगीतकार आभाष, गीतकार योगेन्द्रमणि दाहाल, गीतकार दिनेश अधिकारी र गीतकार थाम्सुहाङले संयुक्त रुपमा एल्बम सार्वजनिक गरे ।

एल्बममा ‘यायावर’, ‘न मर्नु न बाँच्नु’, ‘प्रणयका ती पलहरु’, ‘किन आज’, ‘आफ्नै मुहार’, ‘ए चन्द्रमुखी’ र ‘नसोध साथी’ बोलका गीत छन् । गीतमा भिषण मुकारुङ राई, भविन ढुंगाना, झुमा लिम्बु, कर्मा ग्याल्छेन बम्जन, लसिमित राईको स्वर छ । गीतमा अम्बर गुरुङ, शान्ति ठटाल, पारस मुकारुङ र आभाषको संगीत छ ।

कार्यक्रममा संगीतकार बल्लभ, प्राज्ञ तथा साहित्यकार मुकारुङलगायतले एल्बमका राम्रा र नराम्रा पक्षका बारेमा आफ्ना भनाई राखेका थिए । प्रमुख अतिथि गीतकार थापाले थाम्सुहाङका गीतमा चेतनाको स्तर उच्च रहेको बताए । कार्यक्रममा एल्बमको शीर्ष गीतको भिडियो ‘यायावर’ पनि सार्वजनिक गरिएको थियो ।  बसन्तको गीत ‘ए चन्द्रमुखी’ वर्ष २०७१ को वर्षगीत घोषित भएको थियो । उनले यसअघि २०६८ सालमा ‘अवशेष’ नामक एल्बम बजारमा ल्याएका थिए ।