नेपाल आउन सलमानलाई अदालतले दियो अनुमति

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले नेपाल भ्रमणमा जान अनुमति दिएको छ । अदालतले सलमानलाई नेपालसहित क्यानाडा र अमेरिका यात्राको अनुमति दिएको हो ।

सलमान दबंग टुर अन्तर्गत नेपाल आउने तयारी भइरहँदा नेपालमा माओवादीको एक समूहले विरोध गरेपछि नेपाल यात्रा स्थगित भएको थियो । अर्को मिति सार्वजनिक गर्ने तयारी भइरहँदा कालो हरिणको शिकारमा मुद्धा खेपिरहेका सलमानलाई जोधपुर अदालतले पाँच वर्षको जेल सजाय सुनाएपछि उनी नेपाल तत्काल आउने सम्भावना टरेको थियो ।

अदालतबाट जमानतमा रिहा भइसकेका सलमानले मे २५ देखि जुलाई १० सम्म चार देशको भ्रमणका लागि अनुमति मागे पछि अदालतले विदेश भ्रमणको अनुमति दिएको हो । अदालतले सलमानलाई धेरै सर्तमा जमानतमा रिहा गरेको थियो । सन् १९९८ मा फिल्म ‘हम साथ–साथ हैं’ सुटिङको समयमा कालो हरिणलाई सलमानले शिकार गरेपछि अहिले आएर अदालतले जेल सजाय सुनाएको थियो ।