सकियो पसलेको छायांकन

काठमाडौं । निर्देशक राजेन्द्रकुमार अर्याल ‘राजु’ निर्देशित सातौ फिल्म ‘पसले’ को सम्पूर्ण छायांकन सकिएको छ । एनपी फिल्मस् प्रोडक्सनका लागि निर्माताद्वय सञ्जयकुमार थापा र गणेशप्रसाद चुँडालले फिल्ममा लगानी गरेका हुन् ।

काठमाडौं, काभ्रे, धनगढी र चितवनमा फिल्मको छायांकन गरिएको हो । निर्देशक अर्यालले फिल्म जातिय छुवाछुत र पहाड तराईबीचको मतभेदमा केन्द्रित रहेको बताए । यस अघि राजेन्द्रले ‘यो कस्तो प्रेम’, ‘अन्यौल यात्रा’, ‘सिता’, ‘जिन्दगी’, ‘जस्ट फर यू’, ‘एक्सन’ फिल्मको निर्देशन गरिसकेका छन् । २०५६ सालमा ‘अविरल बग्दछ इन्द्रावती’ टेलिचलचित्रमा निर्देशक बद्री अधिकारीको एसिस्टेन्स डाइरेक्टर हुँदै उनले कला क्षेत्रमा हात हालेका हुन् । ‘जिन्दगी’, ‘एक्सन’ र ‘पसले’ लाई निर्देशक स्वयम अर्यालले लेखेका हुन् । कलाकार दयाहाङ राई र हरिवंश आचार्यलाई लिएर फिल्म निर्देशन गर्ने उनको चाहाना रहेको छ ।

यता निर्माता सञ्जयले भने पिटर खालिङ राईसँग मिलेर ‘अन्यौल यात्रा’ निर्माण गरेका थिए । मेकिङको हिसाबले उनको यो दोस्रो फिल्म हो । सामाजिक कथावस्तुमा आधारित ‘पसले’ मा राजन महर्जन, ऋतु लामा, सुशान्त माझी, अनिल खतिवडा, जिएस आले, रमेश भट्टराई, दीपेन्द्र कोइराला, अर्जुन भुषाल, सुनिता पौडेल, रोहन नेपाल लगायतको अभिनय रहेको छ । फिल्ममा किरण दाहालको द्धन्द, राजेन्द्र थापाको छायांकन, रामप्यासी र दीपेश सुब्बाको कोरियोग्राफी रहेको छ । चलचित्रको गीतमा संगीत अमित चौधरीले दिएका हुन् । फिल्म रिलिज मिति भने हाल तय गरिएको छैन ।