आम्रपालीको एकै वर्ष आठ फिल्म

मुम्बई(एजेन्सी) । यदि तपाई भोजपुरी नायिका आम्रपाली दुबेको फ्यान हुनुहुन्छ भने तपाईले यो वर्ष ब्याक टु ब्याक उनको ८ फिल्म हेर्ने पाउनुहुनेछ । यो वर्ष उनको दिनेशलाल यादवसँग अभिनय गरेको सात फिल्म प्रदर्शन हुँदैछन् र बाँकी अर्को एक फिल्म भोजपुरी फिल्म उद्योगका दोस्रो सुपरस्टार खेसारी लाल यादवसँग छ ।

भोजपुरी फिल्मको सबैभन्दा चर्चित नायिका आम्रपालीको फ्यान फलोइङ पनि अत्यधिक छन् । उनको दिनेशलाल यादव र पवन सिंहसँगको केमेष्ट्रीलाई दर्शकले निकै रुचाउँछन् । आम्रपाली भोजपुरी फिल्ममा सर्वाधिक पारिश्रमिक लिने नायिकामा पनि पर्छिन् । उनी एक फिल्म खेलेवापत अधिकतम ९ लाख रुपैंयाँसम्म पारिश्रमिक लिन्छिन् ।  आम्रपालीले आफ्नो करियरको शुरुवात टेलिभिजन उद्योगबाट शुरु गरेकी थिइन् । उनले २०१४ मा फिल्ममा डेब्इु गरेकी थिइन् । फिल्म क्षेत्रमा चार वर्षको करियरमा उनको एकै वर्ष आठ फिलम रिलिज हुँदैछन् ।

दिनेशलाल यादवसँग आम्रपालीको ‘निरहुआ चलल लण्डन’, ‘वीर योद्धा महाबली’, ‘निरहुआ चलल अमेरिका’, ‘निरहुआ चलल ससुराल ३’, ‘बोर्डर’, ‘पटना जंक्शन’ र ‘तुझको रखे राम तुझको अल्लाह रखे’ रिलिज हुँदैछ । उनको आठौं फिल्म ‘दुल्हन गंगा पार के’मा उनको साथ खेसारी लाल यादव देखिँदैछन् । आम्रपाली अभिनित ‘निरहुआ चलल लण्डन’ नेपालका चर्चित फिल्म द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा नेपाली नायक सबिन श्रेष्ठको पनि अभिनय छ ।