दीपेन्द्रको गोपीमा खगेन्द्रको संघर्ष

काठमाडौं । फिल्ममा फरक भूमिकामा देखिने कलाकार खगेन्द्र लामिछाने अब दर्शकमाझ ‘गोपी’ चरित्रमा देखिने भएका छन् । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बुधबार राजधानीमा फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्मका निर्देशक दीपेन्द्र लामाले देशमै केही गर्न सकिन्छ र गर्छु भन्ने पात्रको जीवनमा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका बाबजुद उसले कसरी सफलता हात पार्छ भन्ने कथालाई फिल्ममा देखाइने बताए । फिल्मका कलाकार खगेन्द्रले आफैले लेखेका कथामा मात्र फिल्म खेल्ने भनी आफूमाथि लागेको आरोपलाई अब फिल्म ‘गोपी’ले तोड्ने बताए । फिल्ममा दीपेन्द्रको कथा र सामिप्यराज तिमल्सिनाको पटकथा छ ।

आरोही फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता छन् भने आरोही केसीको लगानी हुनेछ । फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अन्कित खड्का, प्रकाश घिमिरे लगायतको मुख्य भूमिका रहने छ । फिल्ममा शैलेन्द्र डि कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहनेछ । भदौ १ गतेबाट फ्लोरमा जाने फिल्म काठमाडौं र तराईका केही जिल्लामा खिचिनेछ ।