प्रतिभा खोज्दै देश दौडाहामा हैरान

काठमाडौं । फिल्म ‘हैरान’ ले हैरान च्यालेन्जअन्तर्गत ‘राष्ट्रिय प्रतिभाको खोजी’ गर्ने भएको छ । नृत्य, अभिनय र गायन विधामा प्रतिभा खोज्न वैशाख २० गते झापाबाट अडिसन सुरु हुँदैछ । अडिसनका लागि फिल्मका निर्देशक सौगात विष्ट, कलाकार गजित विष्ट, निर्मल शर्मा, सागर लम्साल, आरोही शर्मा मोफसल यात्रामा निस्किएका छन् ।

टिमले अडिसन लिनुका साथै स्थानीय सञ्चारकर्मी र दर्शकसँग फिल्मबारे अन्तरक्रिया समेत गर्नेछन । २० गते झापाको बिर्तामोडवाट सुरु गरिने अडिसन २१ गते विराटनगर, २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ, २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् ।

तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २–२ मिनेटमा आफ्नो प्रस्तुति दिनुपर्नेछ ।

प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् ।  जेठ ४ मा रिलिज हुने फिल्म सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।