चीनमा आक्रामक बाहुबली २

मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘बाहुबली २ः द कन्क्लूजन’ले उत्तरी मुलुक चीनमा आफ्नो दबदबा शुरु गरेको छ । फिल्मले चीनमा रिलिजको पहिलो दिन मै १९ करोडको कमाई गरेको छ । फिल्मले सलमान खान, आमिर खानको फिल्मलाई पनि पछि पारेको छ ।

आमिरको फिल्म ‘दंगल’ले पहिलो दिन चीनियाँ थिएटरमा १४ करोड र सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ले १२ करोडको कमाई गरेको थियो । तर प्रभासको फिल्म ‘बाहुबली २’ले अभिनेता इरफान खानको फिल्म ‘हिन्दी मिडियम’को रेकर्ड भने तोड्न सकेन । यो फिल्मले चीनमा पहिलो दिन २४ करोडको कमाई गरेको थियो ।

बलिउडका व्यापार विश्लेषक रमेश बालाले ट्वीटरमार्फत ‘बाहुबली २’ले दुई दिनमा ३७ करोडको कमाई गरेको उल्लेख गरेका छन् । प्रभासको फिल्म चीनमा गत मे २ मा रिलिज भएको थियो । यो फिल्म चीनको करिब ७ हजार पर्दामा देखाइएको छ ।

फिल्मले रिलिज अघि नै आमिरको फिल्म ‘दंगल’को रेकर्ड तोडेको थियो । तर उनले रिलिजको मामलामा सलमानको ‘बजरंगी भाइजान’को रेकर्ड भने तोड्न सकेनन् । सलमानको फिल्मले ८ हजार थिएटर पाएको थियो । त्यस्तै आमिरको फिल्म ‘सीक्रेट सुपरस्टार’ले चीनमा ६ हजार बढी थिएटर पाएको थियो । त्यस्तै ‘बाहुबली २’ ले चीनमा प्रि सेल्स र एडभान्स बुकिङ १ करोड ६६ लाखको कमाई गरेको थियो ।