डण्डीबियो हेर्दा नेतालाई बाल्यकालको सम्झना

काठमाडौं । लोपोन्मुख खेल डण्डीबियोको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ‘डमरुको डण्डीबियो’लाई नेताहरुले हेरेका छन् । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला र केन्द्रिय सदस्य तथा पुर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले फिल्म हेरेपछि बाल्यकालको सम्झना आएको बताए ।

फिल्मको चर्चा र यसले उठान गरेको विषयले आफुलाई हलसम्म तानेको डाक्टर कोइरालाले बताए । ‘बाल्यकालमा विराटनगरमा खेलिएको सम्झनालाई फिल्मले ताजा गरायो,’ उनले भने ‘फिल्मले गर्दा डण्डीबियोको महत्व पक्कै बढेको छ । यसलाई पुनः राष्ट्रिय खेल बनाउने पहल गर्नेछु ।’ डाक्टर कोइरालासँगै फिल्म हेर्न आइपुगेका डाक्टर रिजालले पनि फिल्मले राम्रो विषय उठान गरेकोमा जोड दिए ।

‘डण्डीबियोको विषय भएता पनि फिल्म निकै रमाइलो छ’ डाक्टर रिजालले भने । उनले यस किसिमको विषयवस्तुलाई रोज्ने निर्माण टिमलाइ धन्यवाद दिए । पुर्व राष्ट्रिय खेल डण्डीबियोलाई मुख्य विषयबस्तु बनाएर बाबू–छोराको सम्वन्धलाई प्रस्तुत गरेको सिनेमालाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

फिल्ममा खगेन्द्र लामिछाने , मेनुका प्रधान , अनुप बराल, बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । यसमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । साथै यसमा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।