डी सिने अवार्डमा को बन्ला उत्कृष्ट

काठमाडौं । दशौं संस्करणको डी सिने अवार्डको मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन अनुसार उत्कृष्ट अभिनेताको सूचीमा फिल्म ‘कृ’बाट अनमोल केसी, ‘लिलीबिली’बाट प्रदीप खड्का, ‘मंगलम्’बाट पुष्पल खड्का, ‘रातोघर’बाट विल्सन विक्रम राई र ‘संरक्षण’बाट सौगात मल्ल छन् ।

२९ विधामा वितरण हुने अवार्डमा ‘ए मेरो हजुर २’बाट साम्राज्ञी राज्यलक्ष्मी शाह, ‘मंगलम्’बाट शिल्पा पोखरेल र ‘कान्छी’बाट स्वेता खड्काबीच प्रतिष्पर्धा हुँदा यो विधामा ‘ब्लाइन्ड रक्स’बाट बेनिशा हमाल र ‘पञ्चायत’बाट नीता ढुंगाना उत्कृष्ट नायिकाको मनोनयनमा अटाएका छन् ।

निर्देशकको हकमा फिल्म ‘लिलिबिली’बाट मिलन चाम्स, ‘छक्का पन्जा २’बाट दीपाश्री निरौला, ‘ऐश्वर्य’बाट दिवाकर भट्टराई, ‘मंगलम्’बाट नवल नेपाल र ‘कृ’बाट सुरेन्द्र पौडेल दाबेदार छन् । त्यस्तै ‘उत्कृष्ट चलचित्र’ विधामा ‘ऐश्वर्य’, ‘कृ’, ‘छक्का पन्जा २’, ‘मंगलम्’ र ‘लिलिबिली’ प्रतिष्पर्धी छन्।

अवार्डमा फिल्म ‘कृ’ र ‘मंगलम्’ समान १३ विधाको मनोनयनमा परेका छन् । फिल्म ‘कृ’ एनिमेसन, पाश्र्व संगीत, ध्वनि मुद्रण, कोरियोग्राफी, द्वन्द्व, खलपात्र,, पटकथा, नवनायिका, छायाँकार, सम्पादन विधाको मनोनयनमा पनि अटेको छ । त्यस्तै ‘मंगलम्’ सम्पादक, चरित्र अभिनेत्री, पटकथा, कथा, संगीत, गायक, गायिका, ध्वनिमिश्रण र पाश्र्व संगीत विधामा परेको छ ।

त्यस्तै फिल्म ‘ऐश्वर्य’ चलचित्र, निर्देशक, छायांकन, नवनायिका, संवाद, खलपात्र, संगीत, गायक, गायिका, गीतकार र ध्वनिमिश्रणको विधामा मनोनयनमा परेको छ । फिल्म ‘लिलिबिली’ सम्पादन, छायाँकार, नवनायिका, संवाद, पटकथा, ध्वनिमिश्रण र पाश्र्व संगीत विधामा पनि परेको छ।

अवार्ड आयोजक छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले प्रविधिका माध्यमले राम्राभन्दा राम्रा फिल्म बनाउने फिल्मकर्मीलाई प्रोत्साहित गर्न अवार्ड आयोजना गरिएको बताए । अवार्डको जुरीमा लेखक तथा निर्देशक मोहन निरौला, पत्रकार तथा निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं निर्देशक तथा सिनेमाटोग्राफर सवनम मुखिया छन् ।

२९ विधाको अवार्डमा जुरी अवार्ड, क्रिटिक्स अवार्ड, इनकरेजन्ट अवार्ड, पब्लिक च्वाइस अवार्डसहित ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान पुरुष र महिला’, ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’, ‘छायाँछवि लिजेन्ड्री सम्मान’ पनि प्रदान गरिनेछ । अवार्ड आगामी जेठ १० गते राजधानीमा वितरण गरिनेछ । यसअघिका आठौं तथा नवौं संस्करण आयोजकले क्रमशः पोखरा र हेटौंडामा सम्पन्न गरेका थिए ।