नर्वेमा बोबीको अन्तर्राष्ट्रिय प्रिमियर

काठमाडौं । वास्तविक प्रेमकथालाई पर्दामा उतारिएको फिल्म ‘बोबी’को पहिलोपटक नर्वेमा प्रिमियर गरिएको छ । हलिउडका फिल्म मात्र प्रिमियर हुने नर्वेमा पहिलोपटक गैर हलिउड फिल्म प्रिमियर गरिएको हो । फिल्मका निर्देशक मिलन चाम्स हुन् ।

नर्वेको ओस्लोस्थित भीका भिक्टोरिया हलमा भएको प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति थियो । निर्देशक चाम्सका अनुसार सबटाइटलसहितको सिनेमा हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए । प्रिमियरमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको पनि सहभागिता थियो । सत्यकथामा आधारित फिल्ममा रियल जोडी कविता गुरुङ र उमेश थापाको अभिनय छ । दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथालाई दर्शकले फिल्ममा हेर्न पाउनेछन् । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् ।

फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म सञ्चारकर्मी नरेश भट्टराईको पटकथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।