इजरायलबाट नेपालमा शिबाको शिबा

काठमाडौं । गायिका शिबा लिम्बूको डेब्यु एल्बम ‘शिबा’ सार्वजनिक भएको छ । गत शुक्रबार राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा संगीतकार÷गायक गणेश रसिक र गीतकार डा. कृष्णहरि बरालले एल्बम सार्वजनिक गरे ।

कार्यक्रममा सदस्य सचिव रसिकले विदेशमा बसेर पनि शिबाको नेपाली गीतसंगीतप्रतिको लगावलाई सराहना गर्नुपर्ने बताए । ‘शिबाको गायनमा दम छ । उनको सांगीतिक भविष्य उज्जवल देख्छु ।’ उनले भने । अर्का गीतकार डा. बरालले शिबाको गायनमा मिठास र भिन्नता भएको जनाए ।  गायिका शिबाले गायन आफ्नो सानैदेखिको रुचि भएको अहिले आएर त्यो रुचीलाई पुरा गरेको बताइन् । गायिका शिबा लामो समयदेखि इजरायलमा बस्दै आएकी छन् ।

एल्बममा ‘तिम्रो साथ’, ‘ढल्कियो’, ‘कस्तो सुन्दर’ र लिम्बू भाषाको ‘केनः हिप्ते तरेमे’ बोलका गीत छन् । गीतमा शिबा लिम्बू, निलम आङबुहाङ राई, राजनराज सिवाकोटी र यादेन शेर्माको शब्द र सुरेशकुमार, राजनराज सिवाकोटी, विक्रम राई र यादेन शेर्माको संगीत छ । शिबालाई ‘कस्तो सुन्दर’ बोल गीतमा गायक विक्रम राईले साथ दिएका छन् भने लिम्बू भाषाको गीतमा जेपी नेम्बाङले साथ दिएका छन् ।

कार्यक्रममा ‘तिम्रो साथ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा गायक रुकमान लिम्बू र गायिका स्वयंले अभिनय गरेका छन् ।