गीताको जन्मदिनमा भावस्पन्दन

काठमाडौं । पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पन्दन’ सार्वजनिक गरेकी छन् । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गीतकार तथा साहित्यकार अमर वान्तु, गीतकार संघका वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य अध्यक्ष राधेश्याम लेकाली, कलाकार तथा गीतकार उत्तम केसी, संगीतकार राजु सिंह, स्रष्टा गीता अधिकारी, एल्बमका संगीतकार दीपक शर्मा, संगीतकार राजेन्द्र बजगाईं र गायक सविन सुवेदीलगायतले एलबम लोकार्पण गरे ।

कार्यक्रमको सहजीकरण गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले र स्वागत मन्तव्य मिलापका सम्पादक कृष्ण भुसालले गरेका थिए । संगीतकार दीपक शर्माले गीता अधिकारीका गीतमा संगीत संयोजन गर्न पाएको अनुभव साटे । पत्रकार तथा गीतकार डब्बु क्षेत्रीले गीतासँग लामो समयदेखि पत्रकारितामा सहकार्य रहेको स्मरण गर्दै पछिल्लो समय सृजनात्मक क्षेत्रमा देखिएको कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रभावबारे चर्चा गरे ।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गीता अधिकारीले आफ्नो जन्मदिनमा सिर्जनात्मक कृति सार्वजनिक गर्ने परम्परा बसालेको उल्लेख गर्दै यसअघि जन्मदिनकै अवसरमा ‘मैले पढेका ५१ पुस्तक’ र ‘मेरा कलमका डोबहरू’ पाठकमाझ ल्याइसकेको जानकारी दिए ।

कलाकार रोशनी केसीले गीताको निरन्तर सिर्जनात्मक सक्रियताको प्रशंसा गर्दै उनको लेखनप्रति आफू प्रशंसक रहेको बताइन् । संगीतकार राजु सिंहले गीताका हरेक सिर्जनालाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उनको एउटा गीतमा आफूले पनि संगीत गरिरहेकोे जानकारी गराए ।

गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सञ्चारकर्ममा जस्तै गीतकारका रूपमा पनि गीता अधिकारी सशक्त र अब्बल रहेको बताए । प्रमुख अतिथि अमर वान्तुले गीताका यसअघि प्रकाशित कृतिहरू अध्ययन गरेको बताउँदै गीतकारका रूपमा उनको शब्द चयन र भाव अभिव्यक्ति विशेष रहेको उल्लेख गरे ।

एल्बमकी स्रष्टा गीता अधिकारीले सानैदेखि गीतसंगीत र साहित्यप्रति गहिरो रुचि रहेको बताउँदै पछिल्लो समय आफ्नो जन्मदिनमा कृति सार्वजनिक गर्ने परम्परा सुरु गरेको जानकारी दिइन् ।

एल्बममा ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, तीजैमा व्रत बसी’, ‘श्वास फेरि’ ‘छम छम नाचौन’, ‘कति सजिलै’ र ‘माटोको सुगन्ध’ जस्ता सात गीत समावेश छन् । गीतमा सारिका घिमिरे, योगशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर रहेको छ । यस्तै दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माको संगीत रहेको छ ।