भारतीय सहरमा भाइरल गोर्खे

काठमाडौं । गत माघ १ गतेबाट नेपाली हलमा प्रदर्शनरता फिल्म ‘भाईरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज हुने भएको छ । भोलि शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्ने फिल्म भारतका विभिन्न सहरमा चाँडै प्रदर्शन हुन लागेको हो ।

भारतमा नेपाली फिल्म रिलिज गर्दै आएको एक कम्पनीसँग फिल्म रिलिजको मौखिक सहमति भैसकेको निर्माता अमित श्रेष्ठले बताए । भारतमा फिल्म रिलिजको जिम्मा लिएका ती व्याक्ति केही दिनमा नेपाल आएर लिखित सम्झौताको तयारी रहेको निर्माता श्रेष्ठको दाबी छ ।

भारतको राजधानी दिल्लीसहित नेपाली भाषीको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसामसहितका सहरमा फिल्म प्रदर्शन हुने निर्माता श्रेष्ठले बताए ।

सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा फिल्मभित्र समेटिएका छन् । यो फिल्ममा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता फिल्म निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्मका सह–निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।