साहित्यकार चन्द्रमित लक्समलाई अभिनन्दन

काठमाडौं । दार्जिलिङकी साहित्यकार तथा गीतकार चन्द्रमित लक्समलाई गीतकार संघ नेपालले अभिनन्दन गरेको छ । संघले आफ्नै कार्यालयमा अभिनन्दन गरेको हो । संघका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवम् सल्लाहकार गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाको प्रमुख आतिथ्यतामा साहित्यकार लक्समलाई अभिनन्दन गरिएको हो ।

दार्जिलिङको पाँचपोखरीमा सन् १९४२ मा जन्मिएकी लक्समले गीत, कविता, अभिनय र उद्घोषण विधामा योगदान दिएकी छन् । उनका गीत ‘फूल फुल्न नदेउ मलाई’, ‘लैजाउ कतै सम्हाल’लगायत चर्चित छन् । उनका गीतमा कर्म योन्जन, अशोक राई, वसन्त क्षेत्री, गगन गुरुङलगायतले संगीत र प्रेमध्वजप्रधान, अरुणा लामा, कुमार सुब्बा, लोचन भट्टराई, डेजी बराईली, पवन गोलेलगायतले स्वर दिएका छन् ।

कार्यक्रममा साहित्यकार लक्समले गीतकार संघले दिएको सम्मानप्रति आभार प्रकट गर्दै आफूलाई ऋणी बनाएको बताइन् । नेपाल र नेपालीभाषा साहित्य भूगोल भन्दामाथि रहेको बताउँदै सम्मानले अझै जिम्मेवारी बढाएको जनाइन् ।

गीतकार कोइरालाले दार्जिलिङ नेपालीभाषा साहित्यको उर्वरभूमि भएको बताउँदै साहित्यकार लक्समको योगदान अनुकरणीय रहेको जनाए । कोइरालाले दार्जिलिङसँग गीतकार संघको प्रगाढ सम्बन्ध रहेको बताउँदै गीतसंगीत र साहित्यमा योगदान दिएका स्रष्टालाई सम्मान गर्न पाउनु संघको कर्तव्य भएको बताए ।

संघका अध्यक्ष थापाले अग्रज साहित्यकार लक्समलाई अभिनन्दन गर्न पाएकोमा खुशी व्यक्त गरे । दार्जिलिङ नेपाली भाषा साहित्य र गीतसंगीतको उर्वरभूमि भएको बताउँदै लक्समको योगदानको चर्चा गरेका थिए ।