काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको उनको गीत आइतबार २९ रिसोर्ट एन्ड फार्म हाउसमा प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् ।
गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ । बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो मायालाई सम्झिएर नोस्टाल्जिक हुँदै विगतको वर्णन गरेको छ ।
पुराना सम्झनाहरूको पत्र कैलाउँदै सबिनले पबित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै उस्तै निश्चल र चोखो रूपमा लिइरहेको गीतका शब्दमार्फत बताएका छन् । पुरानै कल्पना र योजनालाई अझै पनि जिवितै राखेर त्यसकै यादमा भूलिरहेको बताउने गीतले आफ्नो मायालाई पछ्याइहेको कुरा गर्छ ।
प्रिमियरमा म्युजिक भिडियोका मोडल सुजन जिम्बाले सबिन हौसला र प्रेरणाको स्रोत भएको बताए । उनको इच्छाशक्ति र सिर्जनशिलताकै कारण गायनमा सक्रिय बन्न सकेको बताए । प्रिमियरमा अभिनेता मुकुन भुसालले आफू पनि सबिनको सांगीतिक यात्रामा प्रत्यक्ष रूपमा सहकार्य गर्न तयार रहेको बताए ।
‘कल्पना’को भिडियोका निर्देशक तथा कलाकारसमेत रहेका सम्राट अधिकारीले सबिनको कल्पनालाई आफूले भिडियोमार्फत पर्दामा उतार्ने प्रयास गरेको बताए ।
दिमेश श्रेष्ठले प्रोड्युश गरेको भिडियो कथा क्रिएसनले बनाएको हो । सुजन जिम्बा, सृष्टि सुब्बा र सम्राट अधिकारीको अभिनय गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो नुजा पिक्चर्सको प्रस्तुति हो ।





