काठमाडौं । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । टिजरमा आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई देखाइएको छ ।
अटिजम पीडित श्रीमानको व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको समुन्नत परिवार चाहने आमाको प्रयासलाई टिजरमा मार्मिक किसिमले देखाइएको छ ।
पढ्ने रहर हुँदाहुँदै भएको विवाह, सोझो र इमान्दार भनेर सोचेको श्रीमान् नै खराब भएपछिको अवस्था र जन्म दिने आमा छोडेर कर्म दिने आमाको काखमा पुगेकी बुहारीले भोग्नु परेको कस्टले दर्शकको ध्यान खिच्छ ।
श्रीमानको भूमिकामा अरुण क्षेत्री छन् भने श्रीमतीको भूमिकामा सिम्रन खड्का छिन् । डा. कपिल रिजालको निर्देशन रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको समेत अभिनय रहेको छ । फिल्ममा बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपालीको अभिनय छ ।
डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको, छायांकन हरि हुमागाई र सम्पादन मिलन श्रेष्ठको छ ।
फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ।डी। कम्पनीले वितरण गर्नेछन् ।





