काठमाडौं । फिल्म ‘माला’ र ‘रुद्रप्रिया’बाट दर्शकको तारिफ पाएका निर्देशक सुदीप भुपाल सिंह आगामी फागुन १ गतेबाट फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ लिएर दर्शकमाझ आउँदैछन् । अघिल्ला दुई फिल्मभन्दा फरक जनरामा ‘श्री बुकुरोः द होम कलिङ’ निर्माण गरेको उनको बुझाई छ ।
‘मालामा हरर एलिमेन्ट छ । रुद्रप्रिया डार्क र अलिकति रिभेन्ज किसिमको छ । यी दुई फिल्ममा बढी मात्रामा नेगेटिभ इमोसन्स थियो’, उनी भन्छन्, ‘म दर्शकलाई पोजेटिभ किसिमको फिल्म दिन चाहन्थें । त्यो श्री बुकुरोः द होम कलिङ’बाट पुरा गरें ।’
उनले आमाले फिल्म ‘माला’ हेरेपछि आफूलाई दिएको प्रतिक्रियाले पारिवारिक कथाको फिल्म बनाउन प्रेरित गरेको खुलाए । ‘मेरो आमाले माला हेर्दा के सिनेम्याटिक एक्सपिरियन्स दियो त ? त्यो त हररवालालाई दियो होला’, उनी भन्छन्, ‘त्यसकारण परिवारलाई सजिलो फिल्म चाहिएको थियो । सजिलो किसिमले बुझ्ने फिल्म चाहिएकाले यो फिल्म बनाएँ । यो पोजेटिभ फेमिली फिल्म हो । यसले फेमिली अडियन्सलाई इन्टरटेन गर्छ’, उनी भन्छन् ।
फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।







