फ्रेन्च किसमा रेखा अनुबन्ध

काठमाडौं । छायांकनरत फिल्म ‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । फिल्मको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

नयाँ पुस्ताको लभ स्टोरी फिल्ममा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै फिल्म थप सशक्त, आकर्षक र प्रतिक्षित बन्नेमा ढुक्क रहेको बताए ।

‘रेखा थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । आफ्नो दमदार अभिनय, प्रभावशाली उपस्थिति र दर्शकमाझको लोकप्रियताका कारण परिचित उहाँको प्रवेशसँगै हाम्रो चलचित्र थप सशक्त हुने हाम्रो विश्वास छ,’ कार्यकारी निर्माता बस्नेतले भने, ‘विभिन्न सफल चलचित्रमार्फत उहाँले आफ्नो छुट्टै पहिचान स्थापित गरिसक्नुभएको छ । अब ‘फ्रेन्च किस’मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ ।’

एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा अभिनेता अर्पण थापाको निर्देशन छ । फिल्ममा अर्पण, फिल्म ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो र अभिनेत्री गौरी मल्लको पनि अभिनय छ ।

फिल्मको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । सुदीप बरालको सिनेमेटोग्राफी रहेको फिल्ममा संगीत गायक तथा संगीतकार दीपक बज्राचार्यको छ । फिल्म सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।