काठमाडौं । मेकअप आर्टिष्ट रेनु पुन मगर (जमुना पुन मगर)ले गोंगबुको टोखा रोडमा रहेको नर्थ पार्क प्लाजामा ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ बुधबारबाट औपचारिक शुभारम्भ गरेकी छिन् । आधुनिक सुविधा सम्पन्न रेनुको यो सुलन तथा क्याफेलाई अभिनेता धिरेन शाक्य, सौन्दर्यकर्मी कमला श्रेष्ठ, र्याप गायक निर्णय एनएसके र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले रिबन काटेर यो सलुनको उद्घाटन गरे ।
सलुन तथा जे एन्ड जे क्याफेका सञ्चालक ज्याक बुढाथोकीले सलुनसँग आफूहरूले नर्थ पार्क प्लाजा र आपसासका ग्राहकलाई लक्षित गरेर क्याफे पनि सञ्चालनमा ल्याएको बताइन् । मेकअप आर्टिष्ट रेनु पुन मगरले आफ्नो सलुनमा सौन्दर्य, हेयर, स्किन, मेकअप एन्ड ब्युटी सम्बन्धी महिला र पुरुष दुबैलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुरु गरिएको र उद्घाटनको अवसरमा केही छुटको पनि व्यवस्था गरेको बताइन् ।
अभिनेता शाक्यले आफू सौन्दर्य प्रति निकै सजक भएको र युनिसेक्स पार्लरमा सुन्दरताको लागि जाने गरेको बताए । ब्युटिसियन श्रेष्ठले १६ वर्ष अघि आफूसँग मेकअप सिकेर यो क्षेत्रमा आएकी रेनु आज सफल मेकअप आर्टिष्टको रूपमा स्थापित भएको बताइन् ।
महाप्रबन्धक पुनले आधा आधा दशक यताबाट ब्युटिसियन सम्बन्धी पेसा पनि प्लस टुको पाठ्यक्रममा समावेश भएको बताउँदै रेणुको जे एन्ड जे सलुनले आधुनिक सेवा दिने विश्वास व्यक्त गरे ।







