काठमाडौं । यही २१ फागुनमा हुन लागेको संसदीय निर्वाचनलाई लक्षित गरेर गायक तथा संगीतकार रायन बस्यालले नयाँ चुनावी गीत ‘जो आए पनि आयौ तर देश बनाऔँ’को भिडियो सार्वजनिक गरेका छन् । यो भिडियोलाई रायन बस्यालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको रचना रायनले नै गरेका हुन् ।
यो गीतमा रायनलाई समूह गायनमा रेश्मा तामाङ, विमय बस्याल, सुस्मा विश्वकर्मा, नारायण राई, हुमेश भण्डारी र मिलन विश्वकर्माले साथ दिएका छन् । जसमा संगीत र स्वर पनि रायनकै रहेको छ । विश्वास नेपालले संगीत संयोजन गरेको यो गीतलाई विनोद परियारले मिक्सिङ र मास्टरिङ गरेका छन् ।
मुकेश नेपालीले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई निर्देशन पनि रायन बस्याल आफैँले गरेका छन् । बुद्ध थापाले छायांकन गरेको यो भिडियोलाई सुरज कोइरालाले सम्पादन गरेका हुन् । भिडियोमा रायनसँगै सुशीला थापा, सञ्चिता बोलखे,सञ्जना गुरुङ, अस्मिता रनपाल, दीपा रनपाल, अर्जुन खड्का लगायतको मुख्य भूमिका छ । गीतको भिडियोमा विभिन्न प्लेकार्ड मार्फत सकरात्मक सन्देश सम्प्रेषण गरिएको छ ।




