योद्धा अवतारमा सनी लियोनी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सनी लियोनीको अतित जे जस्तो भए पनि बलिउडमा पाइला राखेपछि उनले आफ्नै मेहनतमा पहिचान बनाइरहेकी छन् । हिन्दी र दक्षिण भारतीय फिल्ममा आइटम गीत होस् या बलिउडमा प्रमुख अभिनेत्रीकै रुपमा किन नहोस् उनको लोकप्रियता दिनानुदिन चुलिँदो छ । यही माहौलमा सनीलाई थप चर्चामा ल्याउने काम फिल्म ‘वीरमादेवी’ ले गर्दैछ । यो फिल्ममा उनी रानी लुक्समा देखिँदैछिन् ।

यो तमिल फिल्ममा सनीको डेब्यु हो । उनले तमिल, तेलुगु र कन्नड फिल्मका कैयौं गीतमा आइटम गरे पनि प्रमुख भूमिकामा अभिनय गरेको यो नै पहिलो हो । फिल्मको हालै मात्र फष्टलुक सार्वजनिक गरिएको छ । जसमा सनीको आँखालाई मात्र देखाइएको छ । उनको हातमा तरबार पनि देख्न सकिन्छ । यो एक पिरियड ड्रामाको कथा हो, जसमा सनीलाई एक योद्धाको रुपमा देखाइएको छ ।

यो फिल्मका लागि उनले तरबार चलाउने र घोडा कुदाउने तालिम पनि लिएकी छन् । यो फिल्मको निर्देशन वडीवयुदाईयनले गरिरहेका छन् । गत सात जनवरीबाट शुरु भएको यो फिल्म दक्षिण भारतको चार भाषामा रिलिज गरिनेछ । त्यसकारण फिल्मको बजेट पनि महंगो मानिएको छ । फिल्म आगामी वर्ष रिलिज हुँदैछ ।