किरणलाई साधु रामचन्द्र मुर्मु–पण्डित रघुनाथ मुर्मु पुरस्कार

काठमाडौं । नेपालका फिल्म निर्देशक किरण खतिवडालाई भारतको दार्जिलिङमा आयोजित ९औँ अन्तर्राष्ट्रिय सन्ताली सम्मेलन २०२६ का अवसरमा प्रतिष्ठित ‘साधु रामचन्द मुर्मु–पण्डित रघुनाथ मुर्मु पुरस्कार’ प्रदान गरिएको छ।

यो सम्मेलन इन्टरनेशनल संथाली काउन्सिल, नयाँ दिल्लीसँगको सहकार्यमा आयोजना गरिएको थियो । जहाँ विभिन्न देशका विद्वान, कलाकार र सांस्कृतिक प्रतिनिधिहरू संथाली सम्पदा र आदिवासी संस्कृतिको उत्सव मनाउन तथा त्यसबारे छलफल गर्न भेला भएका थिए ।

प्रारम्भिक कार्यक्रम तालिकाअनुसार यो पुरस्कार उद्घाटन सत्रमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु द्वारा प्रदान गरिने तय गरिएको थियो। तर प्राविधिक कारणका कारण सो सत्रमा पुरस्कार प्रदान गर्न सम्भव भएन। पछि विशेष सत्रमा भारतको इन्डियन रेभेन्यु अकाउन्ट्स सर्भिसका पूर्व अधिकारी उदयनाथ माझी औपचारिक रूपमा उक्त पुरस्कार प्रदान गरेका थिए।

किरणलाई फिल्मका माध्यमबाट संथाली संस्कृतिको प्रवर्द्धनमा गरेको योगदानका लागि यो सम्मान प्रदान गरिएको हो। उनी स्वयं संथाली समुदायका सदस्य नभए पनि उनले नेपालकै पहिलो संथाली फिचर फिल्म ‘बोनोदल(चेन्ज)’ निर्माण गरेका थिए । यो फिल्मले आदिवासी कथा, पहिचान र संस्कृतिलाई उजागर गर्दछ।

सन् २०१६ मा छायांकन गरिएको यस फिल्मले विभिन्न मञ्च तथा फिल्म महोत्सवहरूमा मान्यता प्राप्त गरिसकेको छ। हाल निर्माण टोलीले फिल्मलाई विश्वव्यापी रूपमा हल तथा स्ट्रिमिङ प्लेटफर्ममार्फत प्रदर्शन गर्ने तयारी गरिरहेको छ, जसको वितरण योजना मुम्बईबाट अगाडि बढाइँदैछ।