काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ। छायांकन सुरु भएको २१ दिनमा इन्डक्ल्याप भएको हो। निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए। उनले एक महिनाको सुटिङ तालिका राखेर काम गरिएको भए पनि फिल्मका कलाकार र प्राविधिकहरुको मेहनतले समयभन्दा अगावै सकिएको जानकारी दिए।
फिल्ममा जितु नेपाल,प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटालगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना आचार्य (मुन्नी)रहेकी छन्। उनीहरुको यो पहिलो फिल्मको सहकार्य हो।
बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। फिल्मको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन्। कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्ममा द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारीको रहेको छ।




