काठमाडौं । गायक प्रकाश सपुत पछिल्ला वर्षमा फिल्मका अभिनेताका रुपमा स्थापित छन् । फिल्म ‘परदेशी २’,‘पुर्ण बहादुरको सारङ्गी’,‘माइतीघर’ र आफ्नै फिल्म ‘वसन्त’मा अभिनय गरेका प्रकाश अब दर्शकमाझ ‘परालको आगो’ लिएर आगामी वैशाख ११ गते आउँदैछन् । फिल्ममा उनी ‘चामे’को भुमिकामा छन् ।
फिल्मको ट्रेलरमा उनी मायालु र रिसाहा श्रीमानको भूमिकामा देखिन्छन् । उनले त्यस्तो भूमिका आफुले यसअघि नगरेको र रिस पोख्न नजान्दा सहकर्मी तथा अभिनेत्री सुहाना थापाले सिकाएको खुलाए । ‘मैले भैसी कुट्नुपर्ने दृश्य थियो,तर मैले कुट्न सकिरहेको थिइनँ,’उनले भने, ‘दृश्यमा पनि आओस् र भैसीलाई पनि केहि नहोस् भनेर कसरी काम गर्न सकिन्छ भन्ने कुरामा अलिक छटपटी भएको थियो। त्यो कुरा सुहानाले सिकाउनु भयो।’
फिल्ममा प्रकाशका अलवा सुहाना थापा,सौगात मल्ल,सिर्जना अधिकारी,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलको छ। साथै फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ। फिल्म नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।




