काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्म ‘झिँगेदाउ २’ संविधान दिवसको दिन अर्थात आगामी असोज ३ गते रिलिज हुने भएको छ । मंगलबार फिल्मका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक रिलिज मिति पनि बाहिर ल्याइएको हो ।
निर्देशक देउजाले दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिएपनि त्यो मितिमा फिल्म चलाउन निर्माताबीच होडबाजी देखिएपछि असोज २ रोजिएको बताए । पोस्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा तथा अभिनेताद्वय महेश त्रिपाठी र कुशल बिष्टलाई क्यारेक्टर लुक्समा देखाइएको छ ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय छ ।
निर्देशक देउजाकै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन छ । बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्मको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।




