बोबीमा रोमान्टिक उमेश–कविता

काठमाडौं । आगामी असार २९ गते रिलिज हुन फिल्म ‘बोबी’को रोमान्टिक गीत ‘आँखाको नानी’ सार्वजनिक भएको छ । नर्वेमा बस्दै आएका प्रवासी नेपाली उमेश थापा र कविता गुरुङको वास्तविक कथालाई प्रस्तुत गरिएको फिल्मको गीतमा उमेश र कविताकै अभिनय छ । गीतमा बसन्त सापकोटाको शब्द र संगीत, राजेशपायल राई र दीपा लामाको स्वर छ ।

राजधानीमा मंगलबार आयोजित गीत सार्वजनिक कार्यक्रममा निर्देशक मिलन चाम्सले वास्तविक कथालाई फिल्ममा प्रस्तुत गरिएकाले दर्शकले फिल्म रुचाउने बताए । ‘फिल्ममा उमेश र कविताको प्रेम, संघर्ष र सफलताको कथा छ । फिल्मको पर्दामा देखिने लभस्टोरी झैँ उमेश र कविताको आफ्नै कथा दर्शकले हेर्न पाउनु हुनेछ,’उनले भने, ‘अहिलेसम्म काम गरेका कलाकारमध्ये मलाई कविता नै उत्कृष्ट लाग्यो ।’ फिल्मकी नायिका कविताले सुरुमा गीत राम्रो नलागे पनि सुन्दै जाँदा गीतमा आफ्नै कथा भेटिएको बताइन् ।

फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणालगायतका कलाकारको अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सञ्चारकर्मी नरेश भट्टराईको पटकथा, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत छ ।