छायाछवि काव्यमा सुनिए ज्ञानुवाकर र सुधा

काठमाडौं । छायाछवि क्रियशनले मासिक रुपमा आयोजना गर्दै आएको छायाँछवि काव्य श्रृङ्खलाको आठौं संस्करणमा गजलकार एवम् मुक्तककार ज्ञानुवाकर पौडेल र युवापुस्ताकी गजलकार डा.सुधा शाही सुनिए । कविता र गजल हुँदै आएको श्रृंखलामा यसपटक भने मुक्तक र गजल गुञ्जिए ।

स्रष्टा गजलकार एवं मुक्तककार ज्ञानुवाकरले करिब डेढ दर्जन प्रेम, रोमान्स एवं सामाजिक व्यंग्यका मुक्तक सुनाएका थिए । अर्की स्रष्टा डा.सुधाले करिब १० वटा राजनीतिक, सामाजिक एवम् प्रेमका गजल सुनाइन् । उनले नेपालीसँगै हिन्दी गजल पनि सुनाएकी थिइन् ।

कार्यक्रमका अतिथि गजलकार ललीजन रावल मुक्तक एवं गजलको समिक्षा गर्दै गजल एवं मुक्तकको बनोटका बारेमा चर्चा गरेका थिए । कार्यक्रम संयोजक रश्मी रोदनले साहित्य, संगीत र फिल्मको त्रिवेणीलाई एकीकृत बनाउने प्रयास स्वरुप यस किसिमको श्रृङ्खला संचालन गरिएको बताइन् । छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले श्रृङ्खला साहित्यकारहरुको साझा मञ्च भएको बताए ।

कार्यक्रममा श्रष्टाद्वय पौडेल र शाहीलाई नगदसहित कदर सम्मान गरिएको थियो । छाँयाछवि काव्य शृङ्खलाको नवौं श्रृंखला आगामी असार १६ गते आयोजना गरिने पनि जानकारी दिइयो । कार्यक्रम यस पटकदेखि नेपाल चलचित्र संघको सहकार्यमा विशालनगरमा आयोजना गरिएको थियो ।