बोस्टन र डालासमा गुञ्जिँदै नेपथ्य

काठमाडौं । स्थापनाको रजत वर्ष मनाइरहेको सांगीतिक व्यान्ड नेपथ्यले अमेरिकाको टेक्सासस्थित डालास र बोस्टन कन्सर्ट गर्ने भएको छ । नेपथ्य पहिलोपटक जुन ९ तारिखमा डालासस्थित द बम फ्याक्ट्री कन्सर्ट हलमा र जुन २४ मा बोस्टनको रोयाल बोस्टन हलमा गुञ्जिन लागेको हो ।

डिटी र मोमो इन्टरटेनमेन्टले व्यवस्थापन गर्न लागेको कन्सर्टका लागि तयारी धमाधम भइरहेको उनीहरुले जनाएका छन् । ‘नेपथ्यलाई डालासमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ,’ आयोजक समूहका डिजे मोमोले भने, ‘तीन वर्षअघि न्यूयोर्कमा कन्सर्टका निम्ति व्याण्ड आएको समयदेखि नै हाम्रो सहरमा पनि ल्याउने प्रयासरत थियौं ।’

नेपथ्यले सन् २००४ मा एरिजोनाको फिनिक्स र राजधानी सहर वासिंगटन डिसीमा कन्सर्ट गरेको थियो । त्यसयता लस एन्जलस, एटलान्टा, न्यूयोर्क र सानफ्रान्सिस्कोका मञ्चमा नेपथ्य गुञ्जिसकेको छ ।

बोस्टन तमु समाजकी सम्झना गुरुङले नेपथ्य हरेक पटक न्यूयोर्क सहरमा कन्सर्टका निम्ति आउँदा साथीभाईमाझ आफू बसेको सहरमा कसरी ल्याउने चर्चा हुने गरेको स्मरण गरिन् । ‘यसपटक भने जात्रा नेपालमा आवद्ध साथीहरु ब्याण्डको सम्पर्कमा आएको थाहा पाउनेबित्तिकै यो मौका हामीले छोपेका हौं ।’ उनले भनिन् ।

बोस्टन कन्सर्टमा तमु समाजको जात्रा नेपालसँग सहकार्य छ । भ्रमणदलमा मुख्य गायक अमृत गुरुङलगायत सांगीतिक, प्राविधिक र व्यवस्थापन टोली साथै रहनेछ । डालास र बोस्टनको कार्यक्रम पछी नेपथ्य टोली जुन २७ तारिखमा काठमाडौं फर्किने छ ।