राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट शनिवार स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर छोरा इन्दीवरको साथमा उनी नेपाल वायु सेवा निगमको जहाजबाट दिउँसो स्वदेश फर्किएको भएको उनकी छोरी उषा अधिकारीले बताइन् । उपचारपछि आफू स्वस्थ्य भएर फर्किएको उनले बताएको अधिकारीले जानकारी दिइन् । मेदान्तमा उपचार गराएपछि स्वस्थ्य भएका राष्ट्रकवि घिमिरे चिकित्सकको सल्लाहमा नै घर फर्किएका हुन् ।

अधिकारीका अनुसार राष्ट्रकवि घिमिरे पुनः एक महिनापछि नियमित स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार मेदान्त अस्पताल जानेछन् । राष्ट्रकवि घिमिरको सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार इकाई (हाइकेयर युनिट ) बाट गत जेठ १४ गते क्याबिनमा सारिएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उहाँको उपचार गरेको थियो ।