उपरदाङ्ग गढीमा नालापानीका फौजको व्यस्तता

काठमाडौं । यतिबेला फिल्म ‘नालापानी’को चितवनस्थित ऐतिहासिक स्थान उपरदाङ गढीमा धमाधम छायांकन भइरहेको छ । निर्देशक रिमेश अधिकारीले एक सातादेखी फिल्म छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने बताए ।

उनका अनुसार उपरदाङ्ग गढीको छायांकन सकिँदा फिल्मको नब्बे प्रतिशत छायांकन सकिने र बाँकी दश प्रतिशत छायांकन राजधानीमा हुने छ । उपरदाङ्ग गढी चितवनको पुरानो सदरमुकाम हो । यो किल्ला तत्कालीन बाइसे–चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएको इतिहास छ । गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ ।

निर्माता मनोज शाक्यले ‘नालापानी’को छायांकन उपरदाङ्ग गढीमा नै गर्नुपर्ने आवश्यकता रहेकोले यहि स्थान रोजेको निर्माता बताए । भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन् ।  हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।

फिल्ममा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ । पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्ममा रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र रामशरण उप्रेतीको छायांकन छ ।