मेजर कलाकार थापाको अन्त्येष्टि

काठमाडौं । छाती, फोक्सोको रोगबाट बुधबार बिहान निधन भएका कलाकार सेनानी भीमबहादुर थापाको अन्त्येष्टि गरिएको छ । ९२ वर्षका कलाकारको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । नेपाली सेनाको मेजर पदबाट अवकाश पाएका थापा नेपाली सेनामा रहँदा र नेपाली सेनामा नरहँदा दुवै समयमा कलाकारितामा सक्रिय थिए । थापाले अभिनय गरेको पछिल्लो फिल्म ‘छक्का पन्जा २’ हो । यही फिल्मकी निर्देशक दीपाश्री निरौलाले थापालाई ‘धर्मपिता’ मान्दै आएकी थिइन् ।

थापाको निधनको खबर सुन्नासाथ निर्देशक दीपाश्री पोखरामा छायांकनरत फिल्म ‘छक्का पन्जा ३’को सुटिङ अभिनेता दीपकराज गिरीलाई जिम्मा लगाएर बिहानै काठमाडौं आइपुगेकी थिइन् । आर्यघाटमा थापा परिवारका साथै दीपाका पनि आँशु रोकिएका थिएनन् ।  थापाको दाहसंस्कार गर्नु अघि उनलाई आर्यघाट मै अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

उनको पार्थिव शरीरमा आकाश अधिकारी, रामकेशर बोगटी, नीर शाह, बसुन्धरा भुषाल, चैत्यदेवी, रविन्द्र खड्का, पुष्कर लामा, रमेश बुढाथोकी, राजकुमार राई, सीताराम कट्टेल, नवल खड्कालगायतले श्रद्धाञ्जली दिएका थिए । नेपाली सेनाले पनि थापाको सम्मानमा सलामी दिएको थियो । थापाका २ छोरी र १ छोरा छन् । छोरा अमेरिकामा रहेकाले उनको अनुपस्थितिमा जेठी छोरीले दागबत्ति दिएकी थिइन् । जेठी छोरीले दागवत्ति दिँदा अभिनेत्री तथा निर्देशक दीपाश्रीले पनि उनको हात समाएकी थिइन् ।

खोटाङको रावा, लामीडाँडाका सेनानी थापाको जन्म वि.सं १९८३ साल असार १३ गते भएको थियो । भीमबहादुरले वि.सं २०४१ सालमा निर्माण भएको फिल्म ‘के घर के डेरा’बाट नेपाली फिल्ममा अभिनय यात्रा शुरु गरेका थिए । यो फिल्ममा उनी कलाकार हरिवंश आचार्यको पिताको भूमिकामा थिए । उनले ६ दर्जन फिल्म, डेढ सय टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा अभिनय गरिसकेका छन् ।