जेको कस्मिक लभमा प्रशान्तदेखि दियासम्म

काठमाडौं । अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केलाई प्रमुख भूमिकामा अनुबन्ध गर्दै राजधानीमा नयाँ फिल्म ‘कस्मिक लभ’को घोषणा गरिएको छ । बिएस बलामी र शंकर अधिकारीको संयुक्त निर्देशन रहने फिल्मको छायांकन असार ११ गतेबाट सुरु हुनेछ ।

मुभी मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा जे गौतमको लगानी रहनेछ । रोमान्टिक, कमेडी र सस्पेन्स जन्रामा निर्माण हुने फिल्ममा सुरज प्रधान प्रस्तुतकर्ता छन् ।  अभिनेता प्रशान्तले फिल्मको स्क्रिप्ट चित्त बुझ्दो लागेकोले फिल्ममा काम गर्न इच्छा देखाएको बताए । ‘फिल्ममा मेरो भूमिका अहिलेसम्म अभिनय गरेका फिल्ममा भन्दा फरक छ । त्यसकारण पनि यो फिल्मप्रति म उत्साहित छु’ उनले भने ।

फिल्मका निर्माता गौतमले आफूहरूले चलचित्र विकास बोर्डमा नयाँ ६ फिल्म दर्ता गरिसकेको खुलाए । ‘यो फिल्मसहित जम्मा १० वटा फिल्म बनाउने हाम्रो योजना हो । त्यही अनुसार ६ वटा फिल्म दर्ता भइसकेका छन् । बाँकी ३ फिल्म पनि दर्ताको तयारीमा छन्,’उनले भने, ‘हामी राम्रो र गुणस्तरीय फिल्म प्रत्येक तीन–तीन महिनामा दर्शकलाई दिन चाहन्छौं ।’

फिल्ममा रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन र नयाँ अनुहारका रुपमा रिजन थापाको अभिनय हुनेछ । फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बवुल गिरीको संगीत, बाबु साहेवको एक्सन, विपिन मल्लको सम्पादन, सुरेश बज्राचार्यको छायांकन र शेखर ज्ञवालीको पटकथा रहनेछ ।