भैरे ट्रेलरमा भैरेको खोजी

काठमाडौं । अभिनेता दयाहाङ राईलाई ‘भैरे’को चरित्रमा प्रस्तुत गरिएको फिल्म ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । आगामी साउन ४ गतोबाट रिलिज हुने फिल्मको सोमबार पत्रकारमाझ ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा प्रेम, रोमान्स, कमेडी र एक्सन प्रस्तुत गरिएको छ । ट्रेलरमा भैरे पात्रलाई खोज्दै हिड्ने अन्य पात्रलाई प्रस्तुत गरिएको छ ।  एभरेष्ट सुर्य बोहरा निर्देशित फिल्ममा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, कुमार बस्नेत र सिन्धु पौडेल सह–निर्माता हुन् ।

नेपालय सिनेमा ईन्टरनेशनलको व्यानरमा निर्मित फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङलगायतका कलाकारको अभिनय छ । फिल्ममा लेखबहादुर पुन कार्यकारी निर्माता, वनिष शाहको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन र सूर्य थोकरको द्वन्द्व छ ।