साउन २५ मा पुरनको पिरिम पर्या छन्

काठमाडौं । निर्देशक पुरन थापाको निर्देशनमा बनेको कमेडी फिल्म ‘पिरिम पर्या छन्’ आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक थापाले फिल्मको फष्टलुक सार्वजनिक गर्दै रिलिज मिति पनि सार्वजनिक गरेका हुन् ।

निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको पोस्टरमा प्रमुख कलाकारलाई अटाइएको छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको पिरिम पर्या छन् बिमल ढकालले खिचेका हुन् । निर्देशक पुरनको नयाँ फिल्म ‘फेरि फेरि’ निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो फिल्मभन्दा अघिनै पुरनले ‘पिरिम पर्या छन्’ दर्शकमाझ ल्याउन लागेका हुन् ।

गाउँले परिवेशको सामाजिक हाँस्य फिल्मका रुपमा बताइएको फिल्मका गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।