सुनिललाई मुदस्करको यस्तो सन्देश

काठमाडौ । भारतीय कोरियोग्राफर तथा ‘डान्स इन्डिया डान्स’का निर्णायक मुदस्सर खानले नेपाली अभिनेता सुनिल क्षेत्री र उनी अभिनित नेपाली फिल्म ‘चि मुसी ची’को सफलताको कामना गरेका छन् । सुनिलका गुरुसमेत रहेका उनले एक भिडियो सन्देशमार्फत ‘डिआईडी’ सिजन–४ मा टप टेनसम्म पुगेका सुनिल आफ्नो मनपर्ने प्रतियोगी रहेको बताएका छन् । ‘सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ । मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना । तिमी एकदम राम्रो पर्फमर, डान्सर र आर्टिस्ट हौ ।’ उनले भनेका छन् ।

उनले ४६ सेकेण्डको भिडियोमा डिआईडीमा सुनिलले देखाएको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरेका छन् । ‘डिआईडीमा तिमीले आफ्नो फरक पहिचान बनाएका थियौ अब अलग ट्यालेन्ट र स्टारडमबाट आफ्नो पहिचान बनाउँ मेरो शुभकामना छ ।’उनले अगाडि भनेका छन् । बलिउड सुपरस्टार सलमान खानलाई आफ्नो गडफादर मान्ने मुदस्सर खान भारतका टप कोरियोग्राफर मध्येमा पर्दछन् ।

सुनिल स्टारर चलचित्र ’चि मुसि चि’ आउँदो साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा सुनिलका साथमा सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारहरुको अभिनय छ ।