प्रसादमा फेरिएकी नम्रता

काठमाडौं । फिल्म ‘जायरा’मा नायिका नम्रता श्रेष्ठ कपाल काटेकी रेस्लर चरित्रमा छिन् । केही समय अघि फिल्मको फष्टलुक सार्वजनिक कार्यक्रममा उनी उपस्थित हुँदा उनको अनुहार र एक्सन शैलीले चर्चा पाएको थियो । यिनै नम्रता नयाँ फिल्म ‘प्रसाद’मा चाहिँ गृहिणी चरित्रमा देखिँदैछन्।

निसन्तान दम्पतीले समाजबाट भोग्ने पीडाको कथा प्रस्तुत गरिने फिल्ममा नम्रताको पतिको चरित्रमा नायक विपिन कार्की छन् । सोमबारबाट छायांकन शुरु भएको फिल्मको छायांकनस्थल भक्तपुरको काँडाघारस्थित गान्धी महिला आश्रमलाई रोजिएको थियो । डेराको जिन्दगीमा रमाइरहेका नम्रता र विपिनका दृश्यहरु झण्डै १२ दिन लगाएर यहाँ छायांकन गरिनेछ।

फिल्म ‘जायरा’को कार्यक्रममा फिल्म ‘प्रसाद’मा आफूले नक्कली कपाल लगाउने घोषणा गरेकी नम्रताले ‘प्रसाद’मा त्यही कुरा व्यवहारमा पनि देखाइन् । सामान्य गृहिणी शैलीको लुक्समा कुर्ता सुरुवालमा टाउकोमा सल ओढेकी उनी सुन्दर देखिएकी थिइन्।

फिल्मका निर्देशक दिनेश राउतले नम्रता र विपिनको चरित्र सहरीया संस्कृतिमा बस्दै आएका गाउँले चरित्र रहेकाले त्यसै अनुसार लोकेसन रोजिएको बताए । फिल्मको छायांकनका लागि आश्रममा रंगरोगनसहित मौलिकता दिइएको छ । फिल्ममा निश्चल बस्नेतको पनि अभिनय छ ।शुभसाइटमा विपिन, नम्रता र निश्चले संवाद सट बोलेका थिए । सुवास थापाको लगानी रहेको फिल्ममा पत्रकार सुशिल पौडेलको पटकथा लेखन छ। मुहुर्तमा कलाकार बसुन्धरा भुषाल, निर्देशक राउत, नायिका नम्रतालगायतले पूजा गरेका थिए । फिल्ममा राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल र कोशिष क्षेत्रीको संगीत छ ।