दम्पती बने अनुप–शिल्पा

काठमाडौं । नायक अनुपविक्रम शाही र नायिका शिल्पा पोखरेलले विवाह गरेका छन् । बाहिरी मिडियामा उनीहरुको प्रेमप्रसंगको चर्चा नआइरहँदा उनीहरुले विवाह गरेको तस्बिर सार्वजनिक भएको हो ।  तर तपाई नझुक्किनु होला । उनीहरुले वास्तविक विवाह भने गरेका होइनन् ।

आगामी असार २९ गतेबाट रिलिज हुने फिल्म ‘वीराङ्गना’मा उनीहरु अनस्क्रिन बेहुलाबेहुली बनेका हुन् । फिल्ममा दुबै सशस्त्र प्रहरीको भूमिका छन् । फिल्मको प्रमोसनमा नायक अनुपले सहयोग नगरेको चर्चा चलिरहँदा फिल्म युनिटले अनुप बेहुला र शिल्पा बेहुली बनेको तस्बिर सार्वजनिक गरेको हो ।  महिला सशस्त्र प्रहरीको वीरतामा आधारित फिल्म लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिलमका निर्देशक राजबहादुर सानेले बताए । उनका अनुसार फिल्ममा अनुपसँग शिल्पाको मिलनपछि विवाहको दृश्य राखिएको छ ।

फिल्ममा पृथ्वीराज प्रसाई, प्रज्वल गिरी, सुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय छ । राजबहादुरकै लेखन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन छ ।