डिजेइङसँगै फेशन शो

काठमाडौं । क्रिसमसको अवसर पारेर राजधानीमा सोमबार साँझ नृत्य र फेशनलाई फ्युजन गर्दै ‘क्रिसमस नाईट, फेशन शो वीथ डिजे सिवानी ओबराय’ नामक कार्यक्रम गरिएको छ । रातको छिप्पिँदो चिसोलाई चिर्दै क्रिसमस इभ रातलाई मोडलहरुले क्याटवाक र डिजेले डान्सबाट तताए ।

शोमा दर्शकले आधा दर्जन सिक्वेन्समा विभिन्न फेशनको मज्जा लिए । बालबालिका र तन्नेरी पुस्ता गरी दुई थरीको फेशन शो गरिएको कार्यक्रममा रिविया तण्डुकार, कृष्टिना पौडेल, युनिका पराजुलीसहित १६ जना बालबालिकाले सान्ता क्लज फेशन, पार्टी वेर फेशन, किड क्याजुअल फेशन जस्ता विविध फेशन ¥याम्पमा प्रस्तुत भए । सुजाता राउत र सपना भेटवालले आफ्नो कोरियोग्राफीमा बालबालिकालाई ¥याम्पमा उतारेका थिए ।

बेटल ग्यालेक्सी इन्टरटेनमेन्ट र पेज थ्रि फेशनले विभिन्न चार सिक्वेन्समा आफ्ना सात दर्जन विविध डिजाईनका पहिरन ¥याम्पमा उतारेको थियो । धिराज तण्डुकारले कोरियोग्राफी गरेको तन्नेरी पुस्ताको फेशन शोमा २५ जना महिला र पुरुष मोडलले फेशन वाक गरे । मोडलले लेहंगा चोली, पार्टी गाउन, वान पिस, सर्ट, स्कर्ट, सार्ट गाउन, क्याजुअल, शेरवानी जस्ता विविध फेशन प्रस्तुत गरेका थिए ।

मोडलहरु ममता बस्नेत, सरिता रामदान, अपेक्षा खड्का, परिश्मा दाहाल, शुभेच्छा केसी, शिल्पा सैजु, रबना तण्डुकार, धु्रब बुढाथोकी, प्रकाश शाह, राघव अग्रवाल लगायतका मोडलले क्याटवाक गरेका थिए । ‘मिस्टर एशिया प्यासिफिक इन्टरनेशनल’ अंकित तिवारीले व्यवस्थापन गरेको शोमा गायक आनन्द कार्कीको गायन, महादेव त्रिपाठीको प्रहसनले दर्शकलाई मनोरञ्जन दिएको थियो ।

फेशन शो पछि भारतकी अन्तर्राष्ट्रिय डिजे सिवानी ओबरायले राती १ बजेबाट ४ बजेसम्म आफ्नो डिजेइङबाट दर्शकलाई निरन्तर नचाईन् । उनले चल्तिका हिन्दी र अँग्रेज गीतसँगै नेपाली गीतहरुलाई मिक्स गरेर दर्शकलाई निरन्तर नचाएकी थिईन् । त्यस अघि राति १२ देखि १ बजेसम्म नेपाली डिजेहरु सुरज र साईनले दर्शकलाई नचाएका थिए ।