डान्सिङ मुडमा झुल्किए अनमोल

काठमाडौं । सदाबहार नायक भुवन केसी पुत्र अनमोल केसी कहाँ के गर्दैछन् भन्ने कुरा कमै मात्र फिल्मकर्मीलाई जानकारी हुन्छ । मिडियामा कमै मात्र आउने उनी मिडियामा आउनासाथ सबैको आकर्षण बन्छन् । अनमोल आगामी माघ २६ गतेबाट फिल्म ‘कृ’मार्फत दर्शकमाझ झण्डै दुई वर्ष पछि आउँदैछन् । फिल्मको सार्वजनिक ट्रेलरले युट्युबमा रेकर्ड राखिरहँदा उनको रोमान्टिक डान्सिङ नम्बरको गीत ‘यती यती पानी’लाई फिल्म निर्माण युनिटले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

नेपालको नम्बर १ ट्रेन्डिङमा बसेको ‘कृ’को ट्रेलरमा कमेन्ट पनि ७ हजार भन्दा बढी आएका छन् । साढे १५ लाख भन्दा बढीले यो ट्रेलर हेरिसकेका छन् । यही माहौलमा उनको डान्सिङ फ्लेबरको गीतको केही तस्वीर फिल्म निर्माण युनिटले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । तस्वीरमा अनमोललाई क्लब डान्समा रमाइरहेको देख्न सकिन्छ ।

यो गीत डिसेम्बर ३१ तारिखमा रिलिज गरिनेछ । अंग्रेजी नयाँ बर्षको शुभकामना स्वरुप गीत सार्वजनिक गर्न लागिएको निर्माण टोलीले बताएको छ । यो गीतमा अनमोल केसी क्लबमा नाचेका छन् । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । दर्शकले अनमोलको यस्तो नृत्य शैली यसअगाडिका फिल्ममा नदेखेको रेनशाको दाबी छ ।

यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्मको ट्रेलर हिट भएपछि अब क्लब गीत सार्वजनिक गर्ने तयारी यसको निर्माण टोलीले गरेको छ । फिल्ममा अनमोलसँगै अदिती बुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाललगायका कलाकारको अभिनय छ । सुवास गिरी र भूवन केसीले मिलेर बनाएको फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् । श्री पराजुली फिल्मका सह–निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।