एकसाथ रविनका पुस्तक र एल्बम

काठमाडौं । गायक तथा संगीतकार नेत्रबहादुर खत्री ‘रविन’ एकसाथ दुई कृति लिएर आएका छन् । अमेरिकामा बस्दै आएका खत्रीको ‘लभ डिजायर’ गीति एल्बम र ‘मोडलिङ द इकोच हुमन फिगर इन क्ले’ नामक पुस्तक राजधानीमा सार्वजनिक भएको छ । दुवै कृतिको वरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, कलाकार उत्तम केसीलगायतले संयुक्त रुपमा विमाचन गरे ।

गायक प्रेमध्वजले विदेशमा बसेर पनि नेपाली गीतसंगीतलाई माया गर्दै एल्बम निकालेका गायक खत्रीको प्रशंसा गरेका थिए । संगीतकार राजु सिंहले संगीतकार तथा पुस्तकका लेखक समेत रहेका खत्रीको गायनकलाको खुलेर प्रशंसा गरेका थिए ।

एल्बममा गायक खत्रीकै संगीत र शब्दरचना रहेको छ । एल्बम एक्लै छु, आज मेरो, धेरै दिन, आकाशमा र तिम्रै मायामा बोलका गीत रहेका छन् । उक्त एल्बम युथ क्रियशनको बजार व्यवस्थापनमा श्रोतामाझ आएको हो ।