ए सोल्टिनीमा दर्शक चाप उच्च

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको कमेडी प्रेमकथानक फिल्म ‘ए सोल्टिनी’ प्रति दर्शकको क्रेज बढेको पाइएको छ । फिल्म निर्माण पक्षले रुसमा जारी विश्वकपका बाबजुद पनि दर्शकले फिल्म हेर्न नछोडेको दाबी गरेको छ । निमा तामाङ लामाले निर्देशन गरेको फिल्ममा दिलकुमार घलान तामाङ निर्माता छन् ।

निर्माता तामाङले फिल्म प्रदर्शन भएका राजधानी र मोफसलका अधिकांश हलमा दर्शक चाप उच्च रहेको बताए । ‘हाम्रो फिल्म दर्शकले निकै मन पराइदिनु भएको छ,’ उनले भने, ‘हामीहरु हल हलमा पुग्यौ । सबैले कत्ति राम्रो फिल्म बनाएको भनेर तारिफ गरेका छन् । जसले गर्दा हामीलाई हौसला मिलेको छ ।’

निर्देशक निमाको पहिलो नेपाली फिल्म हो । पहिलो फिल्ममै दर्शकबाट पाएको साथले आफू निकै खुशी भएको उनले बताए । फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म प्रस्तुतकर्ता पूर्णि तामाङ छिन् । ‘ए सोल्टिनी’को सफलताका कारण अब आफूहरु नयाँ फिल्म बनाउने योजनामा रहेको निर्माता दिलकुमारले बताए ।