हात्तीमाझ ‘फिर्के’को प्रचार

काठमाडौं । चितवनमा जारी १४ औं हात्ती महोत्सवमा फिल्म ‘फिर्के’को प्रचार गरिएको छ । आगामी पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको युनिटले चितवनमा चलिरहेको हात्ती महोत्सवलाई प्रचारको प्रमुख थलो बनायो । यो महोत्सवमा हात्ती हेर्न आएका दर्शकलाई फिल्मका निर्माता तथा कलाकार सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोल ‘बेमान’ले गत बिहीवार फिल्मका बारेमा जानकारी गराए । उनीहरुले महोत्सवमा कमेडी प्रहसनमार्फत आफ्नो फिल्म हेर्न अपिलसमेत गरे ।

निर्देशक डंगोल र कलाकार ईकुले चितवनमा पत्रकारसँग पनि भेटघाट गरेको छ । निर्देशक डंगोलले ‘फिर्के’ कमेडी प्रधान फिल्मसँगै गाउँको एउटा केटा शहरपछि सुरु हुने संघर्षलाई पर्दामा उतारेको बताए । ‘मैले पर्दा पछाडि बसेर इमान्दारपूर्वक काम गरेको छु । मेरो काममा दर्शकले न्याय दिनुहुनेछ भन्ने आशावादी छु ।’ उनले भने । फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान ‘ईकु’बाट पाएको परिचय ‘फिर्के’ले बदल्ने बताए । ‘फिर्के’ यसअघिको ’ईकु’ र ’ईकु २’ भन्दा फरक छ । मेरो भूमिकामा यसमा फरक देख्न पाउनु हुनेछ ।’उनले भने ।

फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्जवल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन रहेको छ ।