यति यति पानीमा अनमोलको यस्तो फरक नृत्य

काठमाडौं । आगामी माघ २६ गते रिलिज हुने फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक भएको तीन साता पछि फिल्म युनिटले पहिलो गीत ‘यति यति पानी गंगै रानी’ आइतबार बाहिर ल्याएको छ । अंग्रेजी नयाँवर्ष २०१८ को पूर्वसन्ध्यामा सार्वजनिक गीतमा फिल्मका प्रमुख कलाकार अनमोल केसीको आकर्षक नृत्य दर्शकले हेर्न पाउनेछन् ।

क्लब डान्सको पृष्ठभूमिमा खिचिएको गीतमा अनमोलको डान्सिङ स्टेप बलिउडका अभिनेता ऋतिक रोशनको फ्लेबरको देख्न सकिन्छ । उचाईमा पनि अग्ला अनमोलको नृत्य शैली आम दर्शक र फिल्मकर्मीले सोचे भन्दा फरक देखिएको छ । फिल्म ‘होस्टेल’देखि पछिल्लो फिल्म ‘ड्रिम्स’सम्म आइपुग्दा दर्शकमाझ रोमान्टिक लुक्सका नायकको छवि बनाएका अनमोलले फिल्म ‘कृ’मा पुरानो छविलाई मेट्दै एक्सन र कुशल डान्सरको छविलाईसमेत जोडेका छन् । फिल्मको ट्रेलरमा उनको एक्सनको सबैले तारिफ गरेका छन् ।

अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ । गीतको भिडियोमा रेनाशा वान्तवा राइले कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ । काठमाडौको दरबारमार्गस्थित डेजा भू क्लबमा राजु पेन्टरले डिजाइन गरेको भव्य सेटमा गीत खिचिएको हो ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । सुवास गिरी र भूवन केसीको लगानी रहेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । कमल गिरी कार्यकारी निर्माता र श्री पराजुली सह–निर्माता रहेको फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा रानालगायतका कलाकारको मुख्य भूमिका छ ।