राजनीतिमा आए रजनीकान्त

मुम्बई(एजेन्सी) । आफ्नो एक्सनले दर्शकमाझ राज गरेका दक्षिण भारतीय सुपरस्टार रजनीकान्त नयाँवर्षको पूर्व सन्ध्यामा आइतबारबाट औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका छन् । उनले आइतबार अब आउन लागेको विधानसभा चुनावमा आफ्नो पार्टी तमिलनाडुको सबै सिटमा चुनाव लड्ने घोषणा गरेका छन् ।

उनले आफ्नो पार्टी स्वतन्त्र पार्टी भएर २ सय ३५ निर्वाचन क्षेत्रमा जित्ने दाबी गरेका छन् । केही दिन अघिमात्र उनले राजनीतिमा आउने संकेत दिएका थिए । ‘म राजनीतिमा नयाँ होइन । तर राजनीतिमा आउने घोषणा चाहिँ पक्कै ढिलो भयो ।’ उनले भनेका छन् । रजनीकान्त तमिलनाडु राज्यमा सर्वाधिक रुचाइएका व्यक्तिमा पर्दछन् । उनी तमिल मानिसहरुको ‘थलाइवा’ नै हुन् । रजनीकान्तले एक हप्तामा आफ्ना १ हजार फ्यानसँग भेटघाट पनि गरेका छन् ।

उनी बिहान ७ बजेदेखि दिउँसो तीन बजेसम्म हरेक दिन आफ्ना फ्यानलाई भेट्ने गर्दछन् । गत मेमा रजनीकान्तले आफ्ना फ्यानलाई भगवानले चाहेमा राजनीतिको बाटो पछ्याउने बताएका थिए । उनले आफू सत्यताका लागि राजनीति रोजे पनि पैसाका लागि राजनीति नगर्ने खुलाएका थिए ।