रोयल्टी समाजलाई क्लासिकको १५ हजार

काठमाडौं । नेपालको पहिलो व्यावसायिक एफएम क्लासिक एफएमले आफ्नो स्थापनाको २२ औं वार्षिकोत्सवको अवसर पारेर संगीत रोयल्टी संकलन समाजलाई १५ हजार रुपैंयाँ रोयल्टी प्रदान गरेको छ । श्रष्टाको श्रमको कदर गर्ने परम्परा बसाल्नका लागि एफएमले समाजका कोषाध्यक्ष लोकराज अधिकारीलाई पन्ध्र हजार रुपैंयाँको चेक प्रदान गरेको हो । एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले अधिकारीलाई चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा श्रष्टाको सम्मानका लागि क्लासिक एफएमले चालेको कदमको सराहना गर्र्दै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले एफएमलाई धन्यवाद दिए । एफएमले पत्रकारद्वय गौरी केसी र धुव्र थापालाई ‘राकेश लामिछाने स्मृति रेडियो पत्रकारिता सम्मान २०७४’ बाट सम्मानित पनि गरेको छ । क्लासिक एफएमका संस्थापक प्रबन्ध निर्देशक स्वर्गीय राकेश लामिछानेको सम्झनामा एफएमले पत्रकारिता सम्मान स्थापना गरेको हो ।

ललितपुरमा आयोजित कार्यक्रममा गौरी र धुव्रलाई उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले सम्मानपत्र तथा नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहित सम्मान गरे । उपप्रधानमन्त्री थापाले सूचना सम्प्रेषण र मनोरञ्जनका लागि एफएम रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा क्लासिक एफएमको भूमिकाको प्रशंसा गरे । सम्मानित व्यक्तिद्वय केसी र थापाले क्लासिक एफएमले सुरुवात गरेको यो पत्रकारिता सम्मानले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने बताए ।